<strong>भारतको उपराष्ट्रपति एम वेंकैया नायडु सिक्किम भ्रमणमा </strong>

भारतको उपराष्ट्रपति एम वेंकैया नायडु सिक्किम भ्रमणमा

विश्वविद्यालयहरूले जैविक खेती र औषधी प्रणाली जस्ता परम्परागत ज्ञान प्रणालीहरूमा वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहित गर्नुपर्छः उपराष्ट्रपति नायडु
गान्तोक,11 मार्च। अन्ततः भारतका उपराष्ट्रपति एम वेंकैया नायडु आधिकारीक दुइ दिने भ्रमणमा सिक्किमको राजधानी गान्तोक आइपुगेका छन्। पटक पटक सिक्किम आउने प्रयास गर्दा पनि उपराष्ट्रपति नायडुले प्रतिकूल मौसमको कारण आफ्नो यात्रा रद्द गर्नुपरेको थियो। यद्यपी आज सफा मौसमबीच राजधानी गान्तोक नजिक भारतीय सेनाको लिविङ हेलिप्याडमा उपराष्ट्रपतिले सिक्किमको धरतीमा पाइला टेके। यस अवसरमा राज्यपाल गंगा प्रसाद, मुख्यमन्त्री प्रेमसिंह तामाङले उनलाई स्वागत जनाए।
दुइ चरणमा रहेको उनको कार्यक्रमको पहिलो चरणमा सम्मान भवनमा सिक्किम सरकारको प्रयासमा स्थापित कञ्चनजङ्घा राज्य विश्वविद्यालयको आभाषी शिलान्यास गरियो। उक्त विश्वविद्यालयको निर्माण दक्षिण सिक्किमको तिमी तार्कूमा निर्माण हुनेछ। यस अवसरमा उप राष्ट्रपति नायडुले शिलान्यास कार्यक्रममा आफ्नो सम्बोधन राख्दै विश्वविद्यालयहरूलाई जैविक खेती र औषधी प्रणाली जस्ता परम्परागत ज्ञान प्रणालीहरूमा वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहित गर्न र व्यवस्थित तरिकामा ‘हाम्रो बौद्धिक पुँजी पुन: पत्ता लगाउन’ आह्वान गरे।
यसैगरि दोस्रो चरणका कार्यक्रम राजभवनमा सम्पन्न भयो। जहाँ उपराष्ट्रपतिले रसिया र युक्रेनको द्वन्दबाट प्रभावित विद्यार्थीहरूसित अन्तरक्रिया गरे। उनले सिक्किमबाट युक्रेनमा अध्ययन गर्न गएको विद्यार्थीहरूले आफ्नो अध्ययन अधुरो छोडेर फर्नुपरेको प्रतिकूल अवस्थाबारे जानकारी लिए। यसैगरि विद्यार्थीहरूको त्यहाँको अवस्था र फर्किआएपछि के गर्ने भन्नेबारे जिज्ञासा राखे। उनले विद्यार्थीहरूलाई देशका प्रधानमन्त्रीले युक्रेन र रसिया दुवै राष्ट्र प्रमुखहरूसित सम्पर्कमा रहेर भारतीय नागरिकहरूको समस्या समाधान गर्ने असल रणनीति अलम्वन गरिरहेको जानकारी राखे। यस अवसरमा राज्यपाल मुख्यमन्त्री र शिक्षा मन्त्रीको उपस्थिति रहेको थियो। अन्तमा उपराष्ट्रपतिको बाहुलीबाट सिक्किममै पहिलो पल्ट निर्माण भएको स्वतन्त्रता सेनानी आजाद हिन्द फौजका संस्थापक नेताजी सुवासचन्द्र बोसको पूर्ण सालिग अऩावरण गरियो।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *